विरगंज - काठमाडौँ: सुमनाको सुन्ने यात्रा
२०८१ साल माघ १०देखि १६ सम्म जनताको कुरा सुन्न, मन बुझ्न विरगंजदेखि काठमाडौँसम्मको यात्रा तय गरेकी थिएँ ।
नागरिकको आवाज: सदनसम्म
नमस्कार, म सुमना श्रेष्ठ। अहिले प्रतिनिधि सभा सदस्यको भूमिकामा छु। दुई वर्षदेखि संसद्मा र लगभग चार महिना मन्त्रालयमा काम गर्दाको अनुभवले मलाई एउटा निष्कर्षमा पुर्यायो—राजनीतिक पार्टीहरूको दलीय हस्तक्षेपले हाम्रो शिक्षा र प्रशासनलाई तहसनहस बनाएको छ। नेपालका राजनैतिक दलहरूले शिक्षा क्षेत्रमा गरिरहेको दलीय राजनीति विद्यार्थीको भविष्यमाथि गरेको खेलबाड हो। शिक्षाक्षेत्र बिग्रिनुमा मात्र हैन मिटर ब्याज पीडित, सहकारी बचतकर्ताको समस्या बढ्नु र भ्रष्टाचार नियन्त्रण नहुनु पनि दलीयकरणको परिणाम हो।
मनमा अनगिन्ती प्रश्नहरू उठेका छन्। आम सर्वसाधारण एकातर्फ सार्वजनिक शिक्षा धान्न सरकारलाई कर तिरिरहेका छन्: अर्कोतर्फ सार्वजनिक शिक्षा गुणस्तरीय र विश्वसनीय हुन सकेको छैन। शिक्षाजस्तो राष्ट्रनिर्माणको जग नै कमजोर भएपछि उत्पन्न निराशाले युवाहरू देश छोडिरहेका छन्। शिक्षाक्षेत्र एउटा प्रतिनिधिमूलक क्षेत्र मात्र हो। देश धान्ने मुख्य संस्थाहरूमा यो प्रवृत्ति सर्वत्र छ। दलहरूको स्वार्थको लागि विद्यार्थीहरूले आफ्नो सपना गुमाउनुपर्ने हो? नेताका निहित स्वार्थमा कहिलेसम्म हाम्रो बालबालिकाले आफ्नो अधिकार त्याग्नुपर्ने हो? कहिलेसम्म शिक्षा क्षेत्रलाई दलगत राजनीतिले ब्यारेक बनाएर राख्ने हो? केही सय कार्यकर्ताको लागि लाखौँ विद्यार्थीहरूले कहिलेसम्म त्याग गर्नुपर्ने हो? लाखौँ अभिभावकहरूको लगानी र भविष्यको आशामाथि कुठाराघात कहिलेसम्म? भ्रष्टाचारको अखडा बनेको शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप मुक्त कहिले बनाउने हो? होइन, कति पुस्ताले गुमाउनु पर्ने हो? के यो देश कहिले पनि नबनाउने हो?
नेपाली मात्र भएर किन पुग्दैन नेपालमा? एउटा सामान्य काम गर्न पनि कुनै न कुनै दलको झण्डा मुनि नै बस्न पर्ने किन? किन जहिले पनि एउटा “चिनेको मान्छे” नभई केही काम नबन्ने? यिनै प्रश्न मेरो जस्तै तपाईँको मनमा पनि छन् होला। यिनै धाराप्रवाह प्रश्नहरूको बीचबाट तपाईँहरूको बीचमा तपाईँहरूकै भोगाइको गहिराई बुझ्न म वीरगन्जदेखि काठमाडौँसम्म यात्रा गर्दैछु। यो यात्रा एउटा जनप्रतिनिधिको रुपमा गरिएको पहल हो। यो यात्रामा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, युवा, र मिडियासँग संवाद गर्दै, यी प्रश्नहरूको जवाफ खोज्दै अगाडि बढ्नेछु।
तपाईँको सहभागिता र सुझाव यो यात्राको सफलता र सुशासनका लागि महत्त्वपूर्ण हुनेछ।
धन्यवाद।
सुमना श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
२०८१ माघ १० गते
यात्राको पहिलो दिन वीरगञ्जदेखी हिँड्दाहिँड्दै…
वीरगञ्ज-काठमाडौं यात्राको पहिलो दिन वीरगञ्जदेखी हेटौडा पुग्दैछु। कतै सुकुम्वासीहरूका कुरा सुने, कतै लालपुर्जाकालागि लडिरहेका नेपाली नागारिकलाई भेटे, कतै ७ महिनादेखि तलब नपाएका शिक्षकहरूलाई। कतै स्कुल जान लागेका भाइबहिनीहरूलाई भेटे कतै आफ्नै काममा व्यस्त आमा-बुबालाई। मेयर र मन्त्रीको टकरावले बन्द हुने स्थितिमा पुगेका स्कुलमा पुगे।
बिहान ८ः०० बजे वीरगञ्जबाट हिँड्दै जाँदा सबैका कुरा सुन्दै अघि बढ्दै गर्दा आज मनै छोएका केही कुरा शेयर गर्न मन लाग्यो। एक जना दाईले भन्नुभयो, ‘यो देश त हामी सबैको साझा हो नि। तर यो देशमा किन दल र दलका कार्यकर्ताको मात्र चल्छ?’ अर्को एक जना साथीले कुरैकुरामा सुनाउनुभयो- ‘यस्तो सुन्दर देश छ, देश चलाउने ड्राइभर गतिलो भएन।’ अर्को एक जना वृद्ध बुबा भन्नुहुन्छ, ‘घुस नखाए केही काम गर्दैन, घुस दिए जे पनि गर्दिहाल्छ।’
तालाबन्दी भएका स्कुल, लामो समयदेखि मर्मत नगरिदिएर भत्केका पुल, युवाहरूमा केही निराशा तर कर्ममा विश्वास गर्ने नेपालीपन, भविष्यप्रति आशावादी केही आवाज मनमा बुन्दै आज पहिलो दिनको यात्रा टुङ्ग्याए। दलीय अराजकताले हाम्रो समाज कति जर्जर भएको रहेछ अझ गहिराइबाट देखेँ।
भोली सबेरै सुन्दै, सिक्दै, हिँड्दै हेटौडादेखि चितवनतर्फ अगाडी बढ्नेछु। बाटोमा भेटौँला…
आज वीरगञ्जदेखि काठमाडौंको यात्राको दोस्रो दिन, हेटौडाबाट भण्डारा हुँदै सौराहा पुगे।
आजको यात्राको सुरुवात शिक्षकहरूसँगको संवादबाट भयो। उहाँहरूको एउटै गुनासो थियो, “शिक्षकलाई शिक्षकको हैसियतमा सम्मान दिइँदैन।” शिक्षण पेशा, जसले समाज र भविष्यको जग बसाउँछ, त्यो नै दलीय राजनीतिकरणको सिकार भएको देख्दा मेरो मनै पोल्यो। बाटोमा भेटिएका बालविकास (ECD) शिक्षकले आफ्नै पीडा सुनाउनुभयो, “हामीलाई अरु शिक्षक सरह समान व्यवहार हुँदैन। सरकार हाम्रो अवस्था सुधार गर्नुपर्छ।” यसले मलाई मन्त्रालयमा हुँदा बजेटमा समावेश गरिएको “बुटक्याम्प मोडल” को सम्झना गरायो, जहाँ ECD शिक्षक तालिमलाई प्राथमिकतामा राखिएको थियो।
शिक्षकमात्रै हैन विद्यालयका कर्मचारीहरूले पनि “हाम्रो लागि सम्मानजनक व्यवस्था छैन” भन्दै गुनासो गरे। उहाँहरूले भन्नुभयो, “विद्यार्थीको चापअनुसार कर्मचारीको दरबन्दी र तलब हुनुपर्छ।” यस्ता आवाजहरू सुन्दा, संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई अझै विस्तृत छलफलमा लैजानुपर्ने आवश्यकता मैले महसुस गरेँ।
तर शिक्षाक्षेत्रमा मात्र समस्या छैन। कतै उपभोक्ता समितिको मनोमानीको रुपमा दलीय स्वार्थले समाजलाई च्यापेको छ। कतै मिटरब्याजजस्ता वित्तिय शोषणले यहाँका मानिसहरूलाई झन्-झन् गरिब बनाउँदैछ। मकवानपुरका भूमिहीन सुकुम्बासीका समस्या, सिमपानीका जग्गा विवाद, कतै स्वास्थ्य चौकीको अभाव, कतै विद्यालयमा शौचालय समेत नभएको कुरा सुन्दा मन खिन्न भयो। आज मलाई सबैभन्दा झस्काउने कुरा के थियो भने, एकजना बुवाले भन्नुभएको “यहाँ त मन्दिरमा पनि दलीय राजनीति छ।”
देश बुझ्न भनेर म वीरगञ्जबाट हिँडेकी हुँ। तर के महशुस गरे भने, देश भन्नु जनता रहेछ। देश बनाउने कुरा गर्ने नेतृत्वले जनतालाई बनाउने कुरा बिर्सिएको रहेछ। बाटोमा स्कुल, अस्पतालका कुरा सुन्दै दिदीबहिनीहरूसँगै हिड्ने क्रममा मैले एउटा कुरा प्रस्टै देखेँ — यो देशको जनता स्मार्ट छ, परिश्रमी छ। नयाँ पुस्ता उज्यालो भविष्यको प्रतिक हुँदै उदाइरहेको छ। तर तिनले देशप्रति भरोसा नराखेको पाएँ। एक जना दाइले दिनभरिका गुनासा पछि भन्नुभयो, “नेतृत्वदेखि नै घृणा लाग्छ।” तर आक्रोशसँगै नागरिकसँग समाधान पनि छ। अर्को व्यक्तिले थप्नुभयो, “प्रधानमन्त्री नेताले होइन, हामी जनताले चुन्न पाउनुपर्छ।”
दोस्रो दिनको यात्रा टुंग्याउँदै गर्दा, एक जना दिदीको कुरा मनमै बसिरहेको छ। “बहिनी, बच्चाहरू चराजस्तो उडेर गए। नेपालमा बस्न कोही मान्दैन।” देशभित्रका युवालाई स्वाभिमानी र सक्षम बनाउन हामी सबै मिलेर लाग्नुपर्छ। सोचिरहेकी छु — हामीले ती उडेर गएका चरा स्वदेश कसरी फर्काउने?
भोलि बिहान भरतपुर जाँदैछु। भेटौँला।
वीरगञ्ज-काठमाडौंको यात्राको तेस्रो दिन, चितवनको सौराहा हुँदै पर्सादेखि नारायणगढसम्म पुगे।
एउटा जनप्रतिनिधिको रूपमा नागरिकको आवाज सदसम्म पुऱ्याउनु मेरो कर्तव्य हो। संसदीय र कार्यकारी भूमिकामा मैले देखे भोगेका विषयहरूबारे नागरिकका राय, समस्या र सम्भावनाका कुरा सुन्न यो यात्रा गर्दैछु। हिजो दोस्रो दिनको यात्रा टुङ्ग्याउँदा एक जना बुबाले ‘यहाँ त मन्दिरमा पनि राजनीति हुन्छ’ भनेको कुराले दलीय राजनीतिकरणले समाजको प्रगति, एकता र विकासलाई कसरी गिजोलेको छ भन्ने देखाउँथ्यो।
आज पनि यात्रामा धेरै जनजीविकाका समस्याका बाहेक खास गरी शिक्षा लगायतका क्षेत्रमा व्यापक दलीयकरणले गरेको असरबारे गुनासा पोख्नुभयो। ‘शिक्षकले राम्रो पढाएन भने निकाल्न पाउनु पऱ्यो। दलको संरक्षण रहेछ भने कसैले छुन सक्दैन। विद्यार्थी फेल भयो भने विद्यार्थीलाई मात्र दोष लाग्छ शिक्षकलाई केही हुँदैन। अभिभावकले पनि जिम्मा लिँदैन।’ - यात्राकै क्रममा एक जना पूर्व शिक्षकले नै भन्नुभयो। हामीले शिक्षामा पहुँच पुऱ्याउन नै लामो समय सङ्घर्ष गर्नुपऱ्यो। अब गाउँघरमा पनि अपेक्षा एउटै छ गरिखाने सिपयुक्त शिक्षा हुनुपऱ्यो।
शिक्षा प्रणालीकै कमजोरीले होला युवाहरूले शिक्षासँगै रोजगारको पनि दृश्य देख्न सकेका छैनन्। गरिखान केही गरौँ भन्दा राज्यको नीतिले समाजको पिँधका युवाहरूलाई छोएको देखिँदैन। ‘सर्टिफिकेट राखेर लोन लिने कुरा पनि गफै मात्र भयो।’ - एक जना युवाले आज बिहानै भन्नुभएको थियो। ‘पढेर मात्र के गर्नु? आफ्नो मान्छे नभई कामै हुँदैन।’- एक जना दिदीले सुनाउनुभयो। साँच्चै हाम्रो अहिलेको राजनीतिले हाम्रा नागरिकहरूलाई दलको झण्डा नबोके बाँच्नै कठिन बनाइसकेका रहेछ। हरेक निराशाको जरोमा दलीय राजनीतिको दुर्गन्ध देखिन्छ। यतिसम्म कि भरतपुरमै एक जना दाईले भन्नुभयो, ‘पैसा लिएर अस्पताल गए पनि एक कल फोन नगर्दिए बेड त पाइँदैन।’ मैले सोचेको भन्दा धेरै गहिरो समस्या रहेछ मानिसको जनजीवनमा। हाम्रो राज्य र राजनीतिले समाधान पहिल्याउन सकेको छैन।
समस्या मात्र भने छैन। मानिसहरूले सम्भावना पनि खोजिरहेका छन्, देखिरहेका छन्। आजै पद बहाली हुनुभएको एक जना क्याम्पस प्रमुखसँग शिक्षा सुधारका सम्भावनाका कुरा गरे। उत्कृष्टलाई ठाउँ दिने हो र शिक्षा क्षेत्रमा दलगत राजनीति नगरिदिने हो भने मात्र पनि धेरै सुधार सम्भव छ भन्ने स्थानीयहरूको विश्वास छ।
कतै स्वास्थ्य बीमाको कार्यविधिले निम्त्याएका जटिलता त कतै डिजल गाडीहरूको EV रूपान्तरणमा देखिएका कठिनाइबारे संवाद गर्दै सुन्दै आजको यात्रा टुङ्ग्याए। आजको यात्रामा धेरै कुरा सुनेँ, सिके। तर एउटा घटना मनमै बसेको छ। नेपाली सेनाबाट अवकाशप्राप्त एक जना बुवाले आफ्नो बचत रकम सहकारीमा राख्नुभएको रहेछ। सहकारीमा समस्या आयो, समस्याग्रस्त घोषणा गर्नेछ अब राज्यले। तर उहाँले मेहिनत गरेर गर्नुभएको बचतको पैसा फस्यो। कसरी र कहिले पैसा फिर्ता आउँछ अन्यौलता देखे। ‘अध्यादेश आयो के आयो भन्छन्, त्यो ठिक होला, तर हाम्रो पैसा कहिले फिर्ता हुन्छ?’ उहाँको प्रश्न छ।
भोलि सबेरै रामनगर अगाडि बढ्नेछु। भेटौँला।
यात्राको चौथो दिन नारायणगढदेखि कुरिनटार पुगेँ, स्वास्थ्यसंस्थामा समेत दलगत राजनीति देख्दा नरमाइलो लाग्यो।
‘बच्चाहरूलाई खुवाउने पानीको समेत समस्या छ।’- आजको यात्रा सुरु गर्दा पुगेको पहिलो विद्यालयमा सरले सुनाउनुभयो। विद्यालयहरूमा स्रोत व्यवस्थापनको समस्याबारे धेरै गुनासो सुनियो। २ घण्टा हिँडेर आउने विपन्न वर्गका विद्यार्थी पढ्ने स्कुल अझै पनि छन्। स्रोतसँगै सार्वजनिक शिक्षामा विश्वासको पनि सङ्कट रहेछ। जनप्रतिनिधि र सरकारी स्कुलकै शिक्षक आफ्नो स्कुलको शिक्षामा विश्वस्त नहुनु ठूलो समस्या रहेछ। त्यसको कारण धेरैले दलीय राजनीति नै देखाउँछन्। ‘वन समितिमा काँग्रेसको भाग। विद्यालय व्यवस्थापनमा एमाले। चुनाव गरौँ भन्दा कत्ति लड्नुपर्यो। एमालेकै भएपनि १२ पासलाई बनाउँ भन्दा ७ पासलाई खोजेर बनाउँछन्।’- जुगेडीमा एक जना युवाले भन्नुभयो।
सार्वजनिक शिक्षाको दुर्दशाबारे एक जना जनप्रतिनिधिकै परिवारले समेत गुनासो गर्नुभयो- ‘सरकारी तलब खाएर शिक्षकहरूले प्राइभेट स्कुलमा छोराछोरी पढाउँछन् भने शिक्षामा सुधार आउँदैन। मेरो बच्चालाई सार्वजनिक स्कुलमा हाले तर त्यहाँकै शिक्षकहरूले आफ्ना छोराछोरी भने प्राइभेटमा पढाउँदा रहेछन्।’ अर्कोतर्फ शिक्षक नै राजनीतिक दलको कार्यकर्ता भएर हिँड्ने र कक्षामा उपस्थित नहुने समस्या यहाँ पनि सुनियो। मुग्लिङमा एक जना दिदीले भन्नुभयो, ‘मेरो नानी पनि अहिले स्कुलमा छ। राजनीति गर्ने शिक्षकले पढाउँदैनन्।’ एक जना प्रधानाध्यापकको समेत यस्तै स्वीकारोक्ति छ, ‘शिक्षकहरूले प्रयास त गरिरहेका छन् तर विद्यार्थीहरूलाई उत्साहजनक सिकाइका लागि प्रोत्साहन गर्न सकिएको छैन।’
एकल अभिभावकले सन्तानलाई शिक्षादीक्षा दिन भोगेका आर्थिक कठिनाइ सुन्दा विक्षिप्त भए। विद्यार्थीहरूमा मानसिक स्वास्थ्यबारे सचेतना अभाव धेरैतिर अनुभव भयो। ‘हाम्रोमा ३ वर्षमा ५ जना विद्यार्थीले आत्महत्या गरेका छन्’ - एक जना शिक्षकले सुनाउनुभयो। सरकारले पहल लिने हो र सबैको साथ हुने हो भने विद्यार्थीहरूमा मानसिक स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कम स्रोतमै समाधान पहिल्याउन सकिन्थ्यो। यसमा हामी सबै सचेत हुनुपर्ने देखेँ।
हामी नागरिक पनि जिम्मेवार हुनुपर्छ र सरकारको मुख ताकेर नबसौँ, कतिपय कुरामा आफै पहल लिउँ भन्ने रियलाइजेसन चाहिँ नागरिकहरूमा पनि बढेको पाएँ। तर पनि, स्थानीय होस् कि केन्द्रीय सरकारी निकायलाई र जनप्रतिनिधिलाई गैरकानुनी काम गर्न दबाब दिने सँस्कार अझै यथावत नै छ। एक जना जनप्रतिनिधिको गुनासो छ, ‘धनीलाई पनि गरिब भनेर सिफारिस बनाइदिन दबाब दिनुहुन्छ, के गर्ने?’
मुग्लिङमा एक जना बुबाले भन्नुभयो, ‘अहिले पार्टी छ, सबै छ। पार्टी छैन, केही छैन।’ मानिसहरूलाई दलको सदस्य नभए शिक्षा-स्वास्थ्यजस्ता आधारभूत चिजमै फरक व्यवहार भोगेका पिडा छन्। स्वास्थ्यसंस्थामा समेत औषधी खरिद र नियुक्तिहरूमा राजनीति छ। ‘पालो मेरो छ, म भन्दा पछाडि आएकाको उपचार भैराछ। १० बजेदेखि चलाउनुपर्ने औषधी १२ बजे बल्ल चलाउँछ। उपचार टाइममा हुन पनि पावर चाहिन्छ।’- एक जना महिलाको तीतो अनुभव छ। ‘तलदेखि माथीसम्म सेटिङ मात्र हुन्छ। दलको स्वार्थ जता त्यतै हाबी भयो।’ - एक जना दाइले जुगेडीमा भन्नुभएको थियो।
‘‘स्थानीय उत्पादन नभएर पोषण पनि घटेको छ। टिबी रोगको ठूलो समस्या छ। बस्तीमै गएर खकारको नमुना सङ्कलन जोखिमपूर्ण छ।’ - १० वर्षदेखि स्थानीय स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मी भन्नुहुन्छ। नागरिकहरूको अपेक्षा छ - नेपाली हुनुमा गर्व गरेर बस्ने, नेपालको अर्थतन्त्रमा भुईँबाट योगदान दिने हरेक नागरिकलाई राज्यले ‘नेपाली’का रूपमा समान र सम्मानित व्यवहार गरोस्।
मुगलिङका एक जना स्थानीय व्यवसायीले भन्नुभएको समाजमा दलीयकरणको भयावह तस्विर देखाउने प्रश्नसँगै आजको यात्रा अनुभव टुङ्ग्याउँछु, ‘समाजमा मलामी जाने ठाउँसमेत राजनीति पसेको छ। १० जनाले लासमा झण्डा ओढाउँदैमा उपलब्धि हुन्छ? त्यही देखाएर भोट माग्ने अनि !’
भोलि सबेरै बेनिघाटबाट अगाडि बढ्नेछु। भेटौँला।
यात्राको पाचौँ दिन चरौँदीदेखि नागढुंगासम्म: भोलि बुधवार बिहान ८ बजे नयाँ नैकाप लक्ष्मी मन्दिरदेखि शुरु गरेर शहीदगेट पुगेर यात्रा समापन गर्नेछु।
“३५०० जनसङ्ख्या भएको ठाउँमा ६०० भोट ल्याउनेले चुनाव जित्छ। त्यही ६०० को भोटरको लागि मात्र काम गर्छ। यस्तो नि तरिका हो?” - यो एउटा स्थानीय युवाको गुनासो हो। जनप्रतिनिधि जनताको हुनुपर्यो, कार्यकर्ताको मात्र हैन भन्ने कुरा यात्रामा धेरै ठाउँमा सुनियो। स्थानीय सरकारबाट अपेक्षा पनि धेरै छ, आक्रोश पनि। ‘नागरिकता सिफारिसको ५०० रुपैयाँ लिन्छ।’- एक जना स्थानीयको गुनासो छ। तर जनप्रतिनिधिका पनि आफ्नै गुनासा छन्, “जबसम्म कर्मचारीहरू ५/५ वर्षमा रिन्यु हुँदैनन्, तबसम्म विकास हुँदैन,” एक पालिका प्रमुखले भने। दोषारोपणको दुष्चक्र तोड्न लाग्नुपर्यो, काम गर्ने मान्छे चाहियो भन्ने धेरैको सुझाव छ।
शिक्षा प्रणालीमा देखिएका असमानताबारे आज पनि धेरै कुरा सुने। कतिपय पालिकाले आफ्ना मान्छे भएका विद्यालयलाई बढी स्रोत दिन्छन् भन्ने सुनियो। चेपाङ बस्ती भएका क्षेत्रले आधारभूत शिक्षामा समेत पहुँच पाएका छैनन् भन्दा धेरै दुःख लाग्यो।
नयाँ शिक्षा ऐनले तीन तहका सरकारको स्रोत र आर्थिक दायित्वलाई स्पष्ट पार्न आवश्यक छ भनेर सुझाव पाएँ। स्रोत परिचालन जानपहिचानको आधारमा नभई आवश्यकताको आधारमा हुनुपर्ने आवाज आज पनि धेरै सुनियो। “समुदायले सामुदायिक विद्यालयको जिम्मा लिनुपर्यो, अनि विद्यालयले समुदायलाई शिक्षित गर्ने जिम्मा लिनुपर्यो,” - एक जना अभिभावकले भन्नुभयो। साँच्चै नै समुदायको चासो भएका सामुदायिक स्कुल मात्र राम्रो भएका देखियो।
शिक्षकहरूका समस्या पनि धेरै छन्। तर समस्याकाबीच शिक्षकहरूको मिहेनत र सकारात्मक भाव पनि देखेँ। “लहडले हैन तथ्यले नीति निर्माणमा भूमिका खेल्नुपर्छ, - एक जना शिक्षकले भन्नुभयो।
‘राति १ बजेसम्म स्लाइड बनाएर पढाउने कुराको तयारी गर्छु’- अर्का जना शिक्षकले सुनाउनुभएको कुराले खुसी लाग्यो। यस्ता परिवर्तनप्रेमी र मिहेनती शिक्षकहरूलाई सलाम छ। तर, शिक्षण पेसाबारे अर्को एक जना शिक्षकको भनाई पनि यहाँ सान्दर्भिक छ। उहाँको गुनासो छ - “म शिक्षा नै पढाउँछु। तर कमजोर विद्यार्थी मात्र शिक्षा पढ्न आउछन्। भोलिको शिक्षक त्यही हो नि।” यसले शिक्षण पेसाको प्रतिष्ठा र योग्य जनशक्तिको अभावको बहसलाई उजागर गरेको छ।
‘काठमाडौँमा गठबन्धन सरकार फेरिँदा धादिङ अस्पतालको अध्यक्ष समेत परिवर्तन हुने अवस्था छ’- यो सुन्दा चाहिँ मनै भक्कानिन्छ। जहाँ पनि जहिले पनि दलीय राजनीतिको असरले नागरिक आक्रान्त देखेँ। उत्कृष्टतालाई नअङ्गाल्दा नीतिगत स्थिरता र निरन्तरता भएन भन्ने जनताको गुनासो छ।
भोलि यात्राको छैठौ दिन — हामी नयाँ नैकापको लक्ष्मी मन्दिरमा बिहान ८ बजे भेला भई अन्तिम दिनको यात्रा शुरु गर्नेछौँ र त्यहाँबाट शहिद गेटसम्म पुगेर हाम्रो यात्रा टुङ्ग्याउने छौँ। जहाँ, जति बेर सक्नुहुनेछ जोडिनुहोला है।
वीरगञ्ज-काठमाडौं यात्राको समापन
नमस्कार, गत माघ ११ गते वीगञ्जको घण्टाघरबाट नागरिकका आावाजसदनसम्म पुऱ्याउन नागरिकका कुरा सुन्न हिँडेकी थिए। एउटा जनप्रतिनिधिको रुपमा जनताको आवाज सुन्नु मेरो नियमित कर्तव्य हो। शिक्षा र प्रशासनमा दलगत राजनीतिको नकारात्मक प्रभाव, सार्वजनिक शिक्षाको गुणस्तर सुधारको यथार्थ र नागरिकका समस्याहरूलाई संसदमा प्रभावकारी रूपमा उठाउन यो यात्रा तय गरेकी थिएँ। शिक्षामा असमानता, मिटरब्याज, सहकारी पीडितलाई न्याय र सरकारका प्रशासनिक कमजोरीहरू जस्ता विषयमा जागरुकता ल्याउन र यी विषयको नागरिकमा भोगाइको गहिराई बुझ्नु मेरो उद्देश्य थियो। आज माघ १६ गते छैठोँ दिन शहिद दिवसको गौरवपूर्ण क्षणमा शहिद गेटमा यात्रा समापन गर्दैगर्दा देशले भोगिरहेको समस्याहरु समाधान गर्न थप प्रेरणा र उर्जा मिलेको छ। सबैलाई धन्यवाद व्यक्त गर्दै म यो ६ दिने यात्राका अनुभव र प्रारम्भिक निश्कर्ष म निम्न ६ बुँदामा अभिव्यक्त गर्न चाहन्छु।
१. समाजमा चरम दलीय राजनीतिकरणले नागरिकमा निराशा बढेको छ, आत्मविश्वास घटेको छ।
शिक्षा, स्वास्थ्य, प्रशासनलगायत क्षेत्रमा दलगत राजनीतिको हस्तक्षेपले गहिरो रूपमा जरा गाडेको छ। स्कुल, अस्पताल र मन्दिरसम्म राजनीति पुगेको छ, जसले सुशासनलाई कमजोर बनाएको छ र अन्ततः देशलाई नै कमजोर बनाइरहेको छ।
नागरिकहरू गलत कार्यविरुद्ध आवाज उठाउन पनि दलीय राजनीतिको दबदबाले राज्यले प्रतिशोध साध्ने हो कि भनेर त्रसित देखिन्छन्।
२. शिक्षाका समस्या गम्भीर छन्। शिक्षामा व्यापक सुधारको लागि कदम चाल्न ढिला भैसक्यो।
स्रोत वितरणमा असमानता, दलगत हस्तक्षेप, र शिक्षण पेशाप्रतिको विश्वास र सम्मानको अभाव देखियो। सार्वजनिक विद्यालयहरूमा विश्वास घटेको, तर समुदायले चासो दिएको ठाउँमा सकारात्मक परिणाम पनि देखियो।
३. आर्थिक र सामाजिक असमानता व्याप्त देखियो।
नागरिकतासम्बन्धी सिफारिस शुल्कदेखि स्वास्थ्य सेवासम्म असमानता व्याप्त छ। विपन्न वर्ग वित्तीय शोषणको चपेटाले थला परेको छ। यसले नागरिकमा आक्रोश बढाएको छ।
४. जनप्रतिनिधि र नागरिकबीच दूरी बढ्नुले चिन्ता थपिएको छ।
जनप्रतिनिधिहरू जनताको वास्तविक समस्या भन्दा पार्टीको स्वार्थमा बढी केन्द्रित भएको अनुभव सुनियो। चुनाव जितेपछि आफ्ना कार्यकर्ता केन्द्रित हुने प्रवृत्तिले नागरिकहरूलाई उपेक्षित महशुस गराएको छ।
५. स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखियो।
स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सन्तोषजनक छैन। स्वास्थ्य क्षेत्रमै पनि दलगत हस्तक्षेप भएको छ। विद्यार्थीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे राज्य गम्भीर हुनुपर्ने देखिन्छ।
६. नयाँ पुस्तामा परिवर्तनको हुटहुटीमा छ।
नागरिक आक्रोशित भए पनि समाधानको खोजीमा छन्। नेतृत्वबाट जवाफदेहिताको खोजिमा छन्। परिवर्तनको वेग बढ्दो छ।
अन्त्यमा, यो यात्रामा प्रत्यक्ष वा परोक्ष रूपमा साथ दिने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु। नागरिक समाज, विद्यार्थी, अभिभावक, युवा, सञ्चारकर्मी, र स्थानीय सहयोगीहरूप्रति विशेष धन्यवाद। यात्रामासँगै हिँड्ने, संवाद गर्ने, र सहकार्य गर्ने सबै मित्रहरूप्रति हार्दिक कृतज्ञता। नैतिक समर्थन, मार्गदर्शन, र प्रेरणाका स्रोत बनेका सबैलाई मनैदेखि धन्यवाद छ। यो यात्राले मलाई नागरिकहरूसँग अझ मजबुत रूपमा जोड्ने अवसर दियो। संसद र सार्वजनिक बहसमा यी अनुभवहरू प्रस्तुत गरिरहनेछु। भविष्यमा उपयुक्त समयमा अर्को भेगमा फेरि अर्को यात्रामा तपाईँका कुरा सुन्न आउनेछु।
सुमना श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
माघ १६, २०८१